एसिया कप: नेपाल पाकिस्तानलाई चुनौती दिन तयार
काठमाडाैं | भदौ १३, २०८०
तस्बिर फाइल
काठमाडौं: एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दै छ । मुल्तान क्रिकेट रङ्गशालामा यी दुवै टिम विजयी सुरुवात गर्ने दाउमा छन् । नेपाल र पाकिस्तान पहिलो पटक एकअर्काविरुद्ध भिड्न लागेका हुन् । सो खेल खेलेर नेपालले एसिया कपमा पदार्पण गर्ने छ ।
गत हप्ता मात्र श्रीलङ्कामा भएको तीन खेलको शृङ्खलामा अफगानिस्तानलाई ३-० ले हराएर पाकिस्तान विश्व एकदिवसीय वरीयतामा नम्बर एक टिम बनेको थियो । बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तानले एसिया कपमा सोही लयलाई कायम राख्न कोसिस गर्ने छ । नेपाल जिम्बाब्वेमा भएको आइसिसी विश्वकप छनोट–२०२३ मा सहभागी भएपछि एसिया कप खेल्दै छस जहाँ नेपालले अमेरिका र युएईलाई हराएको थियो भने जिम्बाब्वे र वेस्ट इन्डिज जस्ता ठुला टिमलाई कडा टक्कर दिएको थियो । पाकिस्तानविरुद्ध पनि सोही प्रदर्शन दोहो(याउने नेपालको प्रयास हुने छ ।
नेपालका कप्तान रोहितले सामाजिक सञ्जालमार्फत एसिया कपमा पहिलो सहभागितालाई सम्झनलायक बनाउने बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, “सपना पूरा हुँदै छ तर चुनौती अझै छ । हामी एसिया कपमा पूर्ण रूपमा समर्पित भएर खेल्ने छौँ । टिम भावना, समर्पण र अथाह समर्थनले नेपालको नाम उच्च पार्ने छौँ ।”
यसै गरी पाकिस्तान जानुअघि पनि रोहितले उच्च आत्मविश्वास देखाउँदै भन्नुभएको थियो, “पाकिस्तानविरुद्ध खेल्न उत्साहित हुनुका साथै मानसिक रूपमा पनि तयार छौँ ।”
पाकिस्तानविरुद्ध कप्तान रोहितसँगै आसिफ सेख, कुशल भुर्तेल कुशल मल्लबाट रनको अपेक्षा हुने छ । पछिल्लो एक वर्ष हेर्ने हो भने विकेटकिपर ब्याट्सम्यान आसिफले एक शतक र पाँच अर्धशतकसहित नेपालका लागि सबैभन्दा बढी ६७३ रन बनाउनुभएको छ । कप्तान रोहित नेपालका लागि अन्तर्राष्ट्रिय एकदिवसीयमा सर्वाधिक रन बनाउने खेलाडी हुनुहुन्छ । उहाँले नेपालका लागि एक शतक र आठ अर्धशतकसहित एक हजार ४६९ रन बनाइसक्नुभएको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपाली टिममा एक्स फ्याक्टर क्रिकेटर पनि हुनुहुन्छ ।
एसिया कपमा नेपालको बलियो पक्ष भनेको एकजुट टिम नै हो । यस टिममा लामो समयदेखि एकसाथ खेलिरहेका खेलाडी धेरै छन् । कप्तान रोहितको नेतृत्वमा रहेको ब्याटिङ लाइनअपमा आसिफ, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह, आरिफ सेख जस्ता खेलाडी हुनुहुन्छ । नेपाली टिममा नवौँ क्रमसँग ब्याटिङ गर्न सक्षम खेलाडी छन् तर नेपाली ब्याट्सम्यानहरूले साहिद अफ्रिदी, जस्प्रित बुमराह, मोहम्मद सामी जस्ता तेज बलरको सामना गरेका छैनन्स जुन नेपालका लागि टाउको दुखाइ बन्न सक्छ ।
यसै गरी बलिङमा कप्तान रोहितलाई सात बलरको विकल्प छ । त्यसैले टिम सन्तुलित देखिन्छ । नेपालको सबभन्दा बलियो पक्ष भनेको स्पिनरहरू नै हुन् । सन्दीपको प्रदर्शनले धेरै हदसम्म नेपालको प्रदर्शन निर्धारण गर्ने छ । सन्दीपले सन् २०२३ मा मात्र ४२ विकेट लिनुभएको छ । अर्का स्पिनर ललित राजवंशी पनि विश्वस्तरीय बलर हुनुहुन्छ । यी दुई बलरमा जुनुसुकै टिमलाई पनि धराशायी बनाउने क्षमता छ ।
नेपालको कमजोरी भनेको तेज बलिङ आक्रमण हो । नेपालले लगातार प्रारम्भिक तेज बलिङ आक्रमणमा फेरबदल गर्दै आएकाले पनि यस पक्षमा नेपालको अस्थिरता थाहा हुन्छ । तर पनि पाकिस्तानविरुद्ध नेपालका प्रारम्भिक तेज बलरहरू सोमपाल कामी, करण केसीबाट चाँडै विकेटको अपेक्षा हुने छ ।
यसै गरी नेपालसँग ठुला टिमसँग खेलेको अनुभव पनि खासै छैन । अहिलेसम्म नेपालले खेलेका ५७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले तीन टेस्ट राष्ट्र जिम्बाब्वे, वेस्ट इन्डिज र आयरल्यान्डसँग मात्र खेलेको छ । नेपाल यी सबै खेलमा पराजित भएको थियो ।
पाकिस्तानको कुरा गर्ने हो भने सो टिममा कप्तान बाबर, प्रारम्भिक ब्याट्सम्यान फकर जमान, इमाम उल हक, मोहम्मद रिजवान, आगा सलमान र इफ्टिकार अहमद जस्ता एकसेएक ब्याट्सम्यान हुनुहुन्छ । अफगानिस्तानविरुद्धको शृङ्खलामा बाबर र इमाम शानदार लयमा देखिनुभएको थियोस जुन नेपाली टिमका लागि टाउको दुखाइ हुन सक्छ । साहिन सा अफ्रिदी, नसिम साह र ह्यारिस राउफको तेज आक्रमण नेपालका लागि ठुलो खतरा हुन सक्छ । नेपालविरुद्ध मोहम्मद नवाज र सादाब खानले स्पिन पक्ष सम्हाल्ने सम्भावना छ ।
नेपालले एसिया कपका लागि पाकिस्तानमै करिब एक हप्ता अभ्यास गरेको हो । नेपाल दोस्रो खेलमा समूह ‘ए’ मा रहेको अर्को टिम भारतको सामना गर्न भने श्रीलङ्का प्रस्थान गर्ने छ । नेपाल र भारतबिच भदौ १८ गते केन्डीमा खेल हुने छ । समूह ‘बी’ मा गत विजेता श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।
दुवै समूहबाट दुई दुई टिम सुपर फोरमा पुग्ने छन् । सुपर फोरमा सबैले एकअर्कासँग खेलेपछि शीर्ष दुई स्थानमा रहने टिमबिच भदौ ३१ गते श्रीलङ्काको कोलम्बोमा फाइनल हुने छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

